‘मेक इन नेपाल–स्वदेशी’ अभियान प्रवद्र्धन गर्न छलफल

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई व्यापक बनाउनको लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग वृहत छलफल गरी जागरण अभियानलाई अगाडी बढाउँदै आएको छ । यसैको निरन्तरता स्वरुप आज परिसंघको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालसँग छलफल गरेको छ । 
 
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई अगाडी बढाउन यस भन्दा अगाडी गरेका छलफल र शुभारम्भ कार्यक्रमहरुको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउनको लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो । यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राख्नु भयो । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पुर्‍याउने अध्यक्ष मोरको धारणा थियो । 
 
अध्यक्ष मोरले व्यापार सहजीकरण भन्दा औद्योगिक वातावरण सृजना गर्न सरकारले सहजीकरण गर्दै जानु पर्ने धारणा राख्नु भयो । त्यसैगरी आयात प्रतिस्थापन गर्नको लागि उद्योगीहरु सक्षम रहेकोले उर्जा क्षेत्रको विकास गरी विशेषगरी उद्योगहरुलाई चाहिने विद्युत सहज र सस्तो मूल्यमा उपलब्ध गराउन सके आयात प्रतिस्थापन हुने विश्वास व्यक्त गर्नु भयो । 
 
छलफलमा निवर्तमान कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले परिसंघले अगाडी सारेको अभियानको प्रसंशा गर्दै यस अभियानले वर्तमान अवस्थामा चुनौतिकोरुपमा रहेको व्यालेन्स अफ पेमेण्टलाई व्यवस्थित बनाउन थप सहज हुने बताउनु भयो । यो अभियानले लिएको भिजनलाई कार्यमा परिवर्तन गर्नको लागि प्रशासनिक संयन्त्रमा रहेका झमेलाहरुलाई पनि सहज बनाउँदै लैजान सम्बन्धित क्षेत्रबाट प्रतिवद्धताको आवश्यकता रहेको बताउनु भयो । यस अभियानबाट वैदेशिक रोजगारमा जाने जनशक्तिलाई रोक्नु र प्राथमिकताका क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रमा सरकारले अनुदानको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो । 
 
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सरकार र नीजिक्षेत्रको स्वदेशी अभियानमा रहेका विभिन्न धारणाहरुलाई छलफलको माध्यमबाट अगाडी ल्याउनु परिसंघको राम्रो पक्ष रहेको बताउँदै सरकारको काम निजी क्षेत्रले गरेकोमा प्रशंसा समेत गर्नु भयो । उहाँले रासायनिक मल लगायतका कतिपय उत्पादनहरु स्वदेशमानै उत्पादन गर्न सकिने बताउँदै अर्थबेस कन्सट्रक्सन, डण्डी, क्लिंकर लगायतमा आत्मनिर्भर बन्नकोलागि सुझाव दिनु भयो । कृषि र पशुपालनमा पनि त्यत्तिकै संभावना रहेकोले यस क्षेत्रबाट उद्योगलाई चाहिने कच्चा पदार्थ पनि उत्पादन हुने भएकोले यस तर्फ पनि ध्यान पुर्‍याउन सुझाव दिनु भयो । 
 
छलफलमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो ।